दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, ०२ असार । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन् । कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारीहरूको तलब निकासा प्रक्रिया अघि बढाइएको हो ।
महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ । लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब निकासा गरिएको छ ।
त्यस्तै १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब भुक्तानी गरिएको छ ।राउतले बाँकी रहेका ६८४ जना कर्मचारीहरूको खातामा समेत आज–भोलिभित्र तलब रकम जम्मा हुने जानकारी दिनु भयो ।
पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब पठाउने तयारी भइरहेको उहाँले बताउ नुभयो । महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करारका कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो।
पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब भुक्तानी गरिएको हो । महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ ।
यता महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ । महानगरपालिकाले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसक्ने अवस्था रहेकाले दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल भुक्तानी गर्न कार्यबाहक नगरप्रमुख आलमले निर्देशन दिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार नगरप्रमुखको कुप्रबन्धन तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवादका कारण कर्मचारीहरूले लामो समयसम्म तलब पाउन सकेका थिएनन्, तर राहतको अनुभूति भएको बताइएको छ ।







