लक्ष्यमा अडिग रहँदा जीवन बनाउन ढिलाइ नहुने

सञ्जन गौतमका लागि पब्जी खेल समय कटाउने मेलो थियो । जब उनले सन् २०२१ मा ‘सीआरसेभेन होरा’ नामक च्यानल खोलेर पब्जी स्ट्रिमिङ गरे, सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुग्ने नेपाली यूट्युबरको कीर्तिमान बनाए । अहिले सज्जन पब्जीबाटै मासिक ८ देखि १० लाखसम्म कमाइ गर्छन् ।

‘सीआरसेभेन होरा’ अर्थात् सञ्जन गौतम । सन् २०१८ तिर पब्जी खेल्न थाल्दा उनको परिचय सञ्जन गौतम मात्र थियो । खेल्ने प्रयोजनका निम्ति मात्र खेल्थे पब्जी, समय कटाउने मेलो । खेलिरहँदा अरूलाई जिस्क्याउने उनको थेगो थियो, ‘हो र !’

खेलेरै ३ वर्ष बिताएपछि ‘सीआरसेभेन होरा’ नामबाट २८ वर्षीय सञ्जनले यूट्युब च्यानल खोले, र आफ्‌नो खेल स्ट्रिमिङ गर्न थाले । ‘होरा’ आफ्‌नै थेगो अनि ‘सीआरसेभेन’ फुटबलका विश्व स्टार क्रिस्टियानो रोनाल्डो र उनको जर्सी नम्बर ७ को सर्टफर्म ।

यसरी बनेको ‘सीआरसेभेन होरा’ छोटो अवधिमै अन्तर्राष्ट्रिय ई–स्पोर्टस् टीम बन्यो अनि सञ्जन गौतम त्यसको मालिक ।

कुलतबाट निस्किएर सफल गेमर

कक्षा १२ सम्म पढिसकेपछि सञ्जनले पढाइ छोडे । स्नातक तहमा भर्ना त भए, तर पढेनन् । गलत संगतमा परे । गाँजा, चुरोटमा अलिअलि लत बस्यो । यसैमा अल्मलिइरहेका थिए । उनलाई एक प्रकारको छटपटी थियो र केही गर्ने हुटहुटी पनि । यही हुटहुटी बीच कुलतबाट बाहिरिने सोच उनमा पलायो । यही मेसोमा परिवार तथा आफन्तले कोरियन भाषा पढ्ने सुझाव दिए । उनले यो सुझाव माने ।

पब्जीको कमाइबाट सञ्जनले बनाएको घर

‘घरमा मम्मी र म मात्र हुन्थ्यौं, बाबा पनि बाहिर खाडीमा, दाइ पनि बाहिर’ उनी भन्छन्, ‘घरको आर्थिक अवस्था अस्ट्रेलिया र अमेरिका जस्तो देशमा पठाउने खालको थिएन; जापान, कोरिया यस्तै देश जाने बारे सोचें ।’

तर १ अंकले ईपीएसको भाषा परीक्षा कटाउन सकेनन् । कतार एअरवेजको बेलब्वायको अन्तर्वार्तामा पनि तेस्रो चरण पुगेर फालिए । सञ्जन अन्योलमा परे ।

विदेश उड्न नपाएका सञ्जन पब्जीमै भुल्न थाले । घरपरिवारबाट पनि पब्जी खेल्न रोकिएन । ‘परिवारबाट नखेल भन्नुभएन, किनभने म फ्री थिएँ’, उनी भन्छन् । साथीभाइबाटै थाहा पाएको र समय कटाउन खेल्न थालेको त्यही पब्जीबाट सञ्जनले नसोचेको उन्नति गरे ।

‘पब्जी खेलेर पैसा कमाइन्छ भनेर सोचेको पनि थिइनँ, टाइम पासका लागि खेल्ने गरेको थिएँ’, सञ्जन सम्झिन्छन् । उनी स्ट्रिमिङमा आउँदा नेपालमा नयाँ अभ्यास चल्दैथियो । उनकै साथीहरूले सञ्जनलाई खतरा खेल्छ भनेर कमेन्ट गर्थे । त्यही कमेन्टले उनलाई आत्मविश्वास दिलाएको रहेछ, अनि यूट्युब च्यानल खोलेका रहेछन् ।

सन् २०२१ मा ‘सीआरसेभेन होरा’ नामक च्यानल खोलेर पब्जी स्ट्रिमिङ गर्दा सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुग्ने नेपाली यूट्युबरको कीर्तिमान उनले बनाए ।

अहिले त सञ्जनको जीवन पब्जीमय बनेको छ । मासिक ८ देखि १० लाखसम्म कमाइ गर्छन् । कहिलेकाहीं १५ लाखसम्म पनि पुग्ने उनी बताउँछन् ।

च्यारिटी स्ट्रिमिङबाट सामाजिक सहयोग गर्ने उनले सहयोग पनि बाँड्ने गरेका छन् । उनका अनुसार हालसम्म ५० लाख जति च्यारिटीमै खर्च गरेका छन् ।

त्यस बाहेक उनको ब्रान्ड इन्डोर्समेन्ट तथा आफ्नै गेमिङ टीम ‘होरा ईस्पोर्टस्‌’बाट पनि कमाइ हुन्छ । पब्जीबाटै सफल सञ्जनले गत मार्चमा प्रेमिका पुनम खत्रीसँग विवाह गरे ।

पब्जी खेलेरै कमाएको पैसाबाट उनको आफ्नै घर छ, बुबा र दाइलाई स्वदेश फर्काएका छन् । आफ्‌नै लगानीमा क्याफे खोलेका छन् । क्याफेमा करिब ६० लाख लगानी गरिसकेका छन् । ‘बुबा र दाइलाई पनि इन्गेज गराउने हिसाबले क्याफे खोलेको हुँ । युवाहरूका लागि पनि प्रेरणा मिलोस् भन्ने चाहना छ’, उनी बताउँछन् ।

च्यारिटी स्ट्रिमिङबाट सामाजिक सहयोग गर्ने उनले सहयोग पनि बाँड्ने गरेका छन् । उनका अनुसार हालसम्म ५० लाख जति च्यारिटीमै खर्च गरेका छन् ।

होरा ईस्पोर्टस्‌को उदय

यूट्युब च्यानल खोलेर स्ट्रिमिङ गर्न थालेको २ वर्षपछि अर्थात् सन् २०२३ मा उनले होरा ईस्पोर्टस् नाममा गेमिङ टिम खोले, जसमा अरू केही लगानीकर्ता पनि छन् । यो टिम बनाउनुअघि उनी नेपालकै अर्को चर्चित टिम डीआरएसमा थिए । तर सन् २०२३ मा आफ्‌नै टीम बनाए । टीममा राम्रा गेमरहरू राखे ।

‘त्यसबेला मानिसहरूले पनि नेपाली टिम फाइनल पुगेन यस्तो उस्तो भन्न थाले, विश्वास गुम्न सक्छ भनेर मैले टिम बनाउने सोचें । त्यसबेला मेरो अलिकति हाइप बढ्दै थियो अनि बेस्ट प्लेयरहरू सबैतिरबाट छानें’, सञ्जन भन्छन् ।

उनको टीमले पहिलो पटकमै पब्जीको विश्वकपमा स्थान बनायो । त्यसयता नेपालमा आयोजना हुने अधिकांश प्रतियोगितामा होरा च्याम्पियन बन्दै आएको छ ।

हालै साउदीमा सम्पन्न भएको ईस्पोर्टस् विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा होरा ईस्पोर्टस् नवौं स्थान हासिल गर्‍यो । जसबाट होराले १ लाख २७ हजार ५०० अमेरिकी डलर (१ करोड ७८ लाख नेपाली रुपैयाँ) पुरस्कार पनि जित्यो ।

काजखस्तानमा सम्पन्न पीएमएसएल सिएसए (सेन्ट्रएल एन्ड साउथ एशिया) को दोस्रो स्थानमा रहँदै होराले विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा अन्तिम स्थान नै हासिल गर्ने टिमलाई पनि कम्तीमा १ करोड रुपैयाँ पुरस्कारको व्यवस्था थियो ।

६ खेलाडी सम्मिलित रहेको होरा ईस्पोर्टस् टिममा उनको महिनामा ७ लाखसम्म खर्च हुने गर्छ । त्यसमा उनीसँगै अन्य लगानीकर्ताबाट खर्च हुने गरेको छ । टिमले हासिल गरेको सफलताबाट प्राप्त हुने पुरस्कार रकमबाट शेयर अनुसार प्रतिशतको हिसाबले बाँडिने उनले बताए ।

होरा ईस्पोर्टस्‌ले केही महिनाअघि ईस्पोर्टस् एशोसिएसन अफ नेपाल (इसान) को आयोजनामा सम्पन्न पब्जी मोबाइल नेशनल च्याम्पियनसिपको उपाधि पनि जितेको थियो ।

टिम होरा ईस्पोर्ट्स

यो तहको सफलता पाइरहेका सञ्जन यतिकै रोकिनेमा देखिंदैनन् । ‘अब सधैं एउटै किसिमको काम गरिराख्यो भने पनि त्यसको महत्व घट्दै जान्छ, म चाहिं नयाँ–नयाँ कुराहरू के गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छु’, उनी भन्छन् ।

खेल क्षेत्रमा लगाव भएकाहरूमा सञ्जन प्रेरणा नै हुन् । बोल्दा बोल्दैको थेगोबाट ब्रान्ड बनाएका सञ्जन जीवनमा हार मान्न नहुने बताउँछन् । ‘मेरै जीवन त्यस्तो थियो पहिला, अहिले यहाँसम्म आइपुगेको छु’, उनी भन्छन् ।

लक्ष्यमा अडिग रहँदा जीवन बनाउन ढिलाइ नहुने उनको बुझाइ छ । ‘त्यही हो आफ्नो लक्ष्यमा अगाडि बढिराख्नुपर्‍यो, कमाउन ढिला भयो भन्ने कहिल्यै पनि हुँदैन’ सञ्जन भन्छन्, ‘सबैको जीवनमा जतिखेर जे पनि हुनसक्छ।’ आफू जति सफल भए पनि धरातल बिर्सिन नहुनेमा पनि उनी सचेत छन् ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 69 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 66 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 122 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 120 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 91 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 114 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-