प्रमुख २० समाचार

१- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी गर्दै काठमाडौँ जिल्लाभित्रका विभिन्न स्थानीय तहमा नदी किनार, सरकारी, सार्वजनिक, पर्ति तथा निजी जग्गा समेत अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका अनधिकृत बस्तीहरू हटाइने बताएको हो ।  यो अभियान वैशाख १८ गते बिहान ७ बजेबाट एकै पटक विभिन्न स्थानमा सुरु हुने प्रशासनले जनाएको छ । प्रशासनले वैशाख १७ गते साँझसम्म सबै घरटहरा खाली गर्न आग्रह गरेको छ । त्यस्तै जोखिमयुक्त बस्तीमा रहेका संरचना तत्काल खाली गर्न, साथै बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र साना बालबालिकालाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन भनिएको छ । आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहयोग लिन सकिने उल्लेख छ । अस्पताल जानुपर्ने बिरामीका लागि एम्बुलेन्सको व्यवस्था रहने पनि जनाइएको छ । त्यस्तै व्यक्तिगत सामान, लत्ताकपडा तथा पशुचौपाया सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । ढुवानी आवश्यक परे सुरक्षाकर्मी र स्थानीय निकायको सहयोग लिन सकिने प्रशासनले स्पष्ट पारेको छ । सरकारले वास्तविक रूपमा आश्रय आवश्यक पर्ने परिवारलाई वैकल्पिक स्थानमा बसोबासको व्यवस्था गर्ने र भूमिहीनहरूको दीर्घकालीन समाधानका लागि प्रक्रिया अघि बढाइने जनाएको छ । प्रशासनले अफवाह वा गलत हल्लामा नलाग्न आग्रह गर्दै मानवीय सहायता तथा उद्धार कार्य जारी रहने उल्लेख छ । साथै नक्कली भूमिहीन पहिचान भए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । सरकारले यो अभियान नागरिक सुरक्षा र विपद् जोखिम न्यूनीकरणका लागि भएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

२- अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण पासपोर्टहरू यस गर्मीदेखि जारी हुने जनाएको हो । यी पासपोर्टमा ट्रम्पको गोल्डन हस्ताक्षर समेत रहने बताइएको छ । अधिकारीका अनुसार पहिलो चरणमा वासिङ्टनस्थित पासपोर्ट एजेन्सीबाट यो पासपोर्ट वितरण सुरु हुनेछ । त्यहाँ व्यक्तिगत रूपमा पासपोर्ट नवीकरण गर्नेहरूलाई नयाँ डिजाइन उपलब्ध हुनेछ भने अनलाइन आवेदन गर्ने तथा अन्य केन्द्रमार्फत आवेदन दिनेहरूलाई पुरानै डिजाइनको पासपोर्ट दिइनेछ । विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले यो पासपोर्टमा आकर्षक कलात्मक डिजाइन र सुधारिएको दृश्य सामग्री रहने भए पनि सुरक्षाका हिसाबले कुनै परिवर्तन नभएको बताए । उनका अनुसार यो विश्वकै सुरक्षित यात्रा दस्तावेजमध्ये एक रहनेछ । सीमित संख्यामा मात्र जारी गरिने भए पनि कति पासपोर्ट छापिने भन्ने खुलाइएको छैन । नयाँ पासपोर्टको पछाडिको भागमा अमेरिकी स्वतन्त्रताको घोषणासँग सम्बन्धित ऐतिहासिक चित्र राखिनेछ । उक्त चित्रले सन् १७७६ मा अमेरिकी नेताहरूले संसदमा स्वतन्त्रताको दस्तावेज प्रस्तुत गरेको क्षण देखाउछ । यसअघि जारी हुने अमेरिकी पासपोर्टमा पनि ऐतिहासिक दृश्य र राष्ट्रिय प्रतीकहरू प्रयोग हुँदै आएका छन्, जसलाई राजनीतिक रूपमा तटस्थ डिजाइन मानिँदै आएको थियो । यसैबीच, ट्रम्पको तस्वीर अन्य सरकारी स्मारक सामग्रीमा समेत प्रयोग भइरहेको छ । राष्ट्रिय निकुञ्ज पासको नयाँ डिजाइनदेखि स्मारक सिक्कासम्ममा उनको तस्वीर समावेश गरिएको उल्लेख छ । तर पासपोर्टजस्तो महत्वपूर्ण कूटनीतिक दस्तावेजमा कुनै वर्तमान राष्ट्रपति समावेश हुनु सामान्य अभ्यास नभएको भन्दै यो निर्णयबारे विभिन्न चर्चा सुरु भएको छ ।

३- तरुण दलका अध्यक्ष विद्धान गुरुङले राजीनामा दिएका छन् । काँग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन् । उनले तोकिएको समयमा तरुण दलको महाधिवेशन सम्पन्न गर्न नसकेको उल्लेख गर्दै तरुण दललाई पार्टीको मूल विचारबाट अगाडी बढाउन सहज होस् भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । साथै उनले आगामी दिनमा नेपाली काँग्रेस पार्टीप्रति पूर्ण निष्ठावान रहने समेत उल्लेख गरेका छन् । गुरुङले २०७८ फागुन ९ गते नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए ।

४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरिएको आरोपमा  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार बेलर कहारको हकवालाको अधिकार मेट्ने उद्देश्यले फर्जी कागजात तयार गरी उनका भाइ भनेर बुद्धिराम कहारलाई जग्गाधनी कायम गरिएको पाइएको हो । अनुसन्धानका क्रममा मालपोत कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य वृजनारायण यादव तथा बुद्धिराम कहारबीच आपसी मिलेमतो रहेको देखिएको आयोगले जनाएको छ ।जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–२ को कार्यालयबाट बुद्धिराम कहारलाई बेलर कहारको भाइ भनेर तयार गरिएको नाता प्रमाणित, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिससम्बन्धी कागजात फर्जी ठहर गर्दै बदर गरिसकेको थियो । आयोगका अनुसार बेलर कहारको नाममा रहेको २ बिघा ५ कठ्ठा जग्गा उनकी हक खाने छोरी सन्जु कहारको नाममा हकहस्तान्तरण नगरी बुद्धिराम कहारको नाममा कायम गराउन गलत विवरणसहित सर्जमिन मुचुल्का तयार गरिएको थियो । त्यसका आधारमा सरकारी अभिलेखमा झुट्टा विवरण थपघट तथा हेरफेर गरी नामसारी दर्ता, श्रेस्ता र पूर्जा जारी गरिएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

५- सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ऋषिकेश गौली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरिएको उजुरीपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक चितवन रत्ननगर नगरपालिका–१२ स्थायी घर भएका तथा हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्दै आएका ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हाल यो मुद्दा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धानको दायरामा ल्याइएको छ। यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

६- नेपाल ओमानसँग फर्किलो अन्तरले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा ओमान १०२ रनले विजयी भएको हो । ओमानले दिएको ३०६ रनको लक्ष्य पछाएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउदा खेल बर्षाले अवरुद्ध भएपछि खेलको निर्णय डिएलएस मेथडबाट लिइएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए भने भिम सार्कीले २८ र आसिफ सेखले १९ रन बनाएका थिए ।  त्यस्तै ओमानका बलर नदीम खानले ३ विकेट लिएका थिए भने शकील अहमदले २ विकेट लिएका थिए ।  यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउदै ३०५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक १३० रन बनाए भने जितेन रमानन्दीले ४३, आर्यन विष्टले ३५ र हमाद मिर्जाले ३० रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए । यो जितपछि ओमानको २६ खेलमा ३१ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा खेलेका २२ खेलमा १४औं हार हो । नेपालको २२ खेलमा १४ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

७-  नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले यस अघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि तामाङलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको छ । कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यस्तै काँग्रेसको अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरणलाई भने हाललाई निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।  

८-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबार बिहिन नबनाउने बताएका छन् । बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले  सुकुम्बासी समस्या समाधान गर्नेक्रममा सरकारले कसैलाई घरवार विहिन नबनाउने बताएका हुन् । उनले भने- ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ । कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन ।’ उनले सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ भन्दै कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन र आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य भएको बताएका छन् । उनले अनावश्यक राजनीतिकरण नगर्न र कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत भएको बताएका छन् ।

९- नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २५.८१  अंकले घटेर २७४४.४५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८  करोड ६२ लाख ९४ हजार १७३ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.८१ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी केबीएल डिभेन्चर २०९० को शेयर ११.४६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड १९ लाख र पाल्पा सिमेन्टको २० करोड २२ लाख बराबरको कारोबार भएको छ ।

१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेश आवश्यक सुधारका लागि ल्याइएको बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै उनले विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्ति नसच्याएसम्म जनताले वर्तमान सरकारबाट गरेको अपेक्षा पूरा गर्न नसकिने बताएका हुन् । उनले पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्ने उद्देश्यले ल्याउने अभ्यास रहेको उल्लेख गर्दै अहिलेको अध्यादेश कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिनका लागि नभई आवश्यक सुधारका लागि ल्याइएको स्पष्ट पारेको प्रवक्ता मनिष झाले जानकारी दिए । लामिछानेले यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास भएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति गम्भीर रहेको पनि बताए । उनले भने- ‘अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो ।’ उनले बैठकमा संसदीय समिति प्रमुखको जिम्मेवारी प्रमुख प्रतिपक्षलाई एक शब्द पनि नमागी दिएको अभ्यासले नै रास्वपाको लोकतान्त्रिक प्रतिबद्धता देखाएको बताएका थिए । लामिछानेले विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति सभापति बनेका धेरै उदाहरण रहेको स्मरण गराउँदै आफ्नो पार्टीले त्यस्ता अभ्यास सच्याउन इमान्दारीपूर्वक अघि बढेको बताएका थिए ।

११- नेपाली सेनाले सुकुम्बासीहरूको विवरण संकलन गरिएको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति स्पष्टिकरण दिएको छ । सेनाले वर्षायाम नजिकिँदै गर्दा बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य पूर्वतयारीअन्तर्गत तथ्याङ्क अद्यावधिक गरिएको जनाएको छ । सेनाले भनेको छ- ‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्वासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौं ।’ नेपाली सेनाका अनुसार विगतका वर्षहरूमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै पूर्वतयारी योजना बनाइँदै आएको छ । यस क्रममा सुकुम्बासीहरूको विवरण माग गरिएको भन्ने विषय सार्वजनिक भएको भए पनि यसको उद्देश्य केवल विपद्का बेला प्रभावकारी उद्धार तथा व्यवस्थापनका लागि जोखिम क्षेत्र पहिचान गर्नु रहेको सेनाले स्पष्ट पारेको छ ।

१२- सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’ रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । सरकारले यसअघि वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालय स्रोतले सबै अध्यादेश अहिले अध्ययनको क्रममा रहेको बताएको छ ।

१३- विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत महत्वपूर्ण कानुन संशोधन गर्न खोजेको भन्दै कडा विरोध जनाएका छन् । बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारले संसद छल्ने उद्देश्यले अध्यादेश ल्याएको निष्कर्ष निकाल्दै त्यसको घोर विरोध, भर्त्सना र निन्दा गरेको हो । बैठकमा काँग्रेसले बोलाएको यस बैठकमा  नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सरस्वती लामा सहभागी थिए । बैठकले सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ तथा सहकारी ऐन, २०७४ संशोधन गर्न दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ । विपक्षी दलहरूले संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएको बताएका छन् । संयुक्त बैठकले जारी गरिएका सबै अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । त्यस्तै, राष्ट्रपतिसमक्ष सिफारिस भइसकेका अध्यादेशहरू संसद छल्ने उद्देश्यले ल्याइएको भन्दै ती स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध पनि गरिएको छ । विपक्षी दलहरूले स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न समेत सरकारसँग माग गरेका छन् ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।  बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ । बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ । उनले भने- ‘धेरै कुराहरू सिक्न बाँकी छ, सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।’ 

१५-  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडादर पाँच-पाँच प्रतिशतले बढाएको हो । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको हो । यसअघि सरकारले चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाएको थियो ।

१६- नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।  काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गरेका छन् । उनले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई मनोनयन गरेको जानकारी दिएका हुन् ।  त्यस्तै प्रतिनिधि सभामा दलको उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनयन गरेका छन् । त्यसैगरी आङदेम्बेले प्रतिनिधि सभामा काँग्रेसको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको जानकारी दिएका छन् ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ४९१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लामो समयसम्म नाकाबन्दी कायम राख्ने तयारी गर्न आफ्ना अधिकारीलाई निर्देशन दिएका छन् । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले सरकारी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब निरन्तर बढाउने रणनीति अपनाएको जनाएको छ । रिपोर्टअनुसार हालैका बैठकहरूमा ट्रम्पले इरानका बन्दरगाहसम्म जहाजको आवागमन रोक्दै तेल आपूर्ति र व्यापारलाई थप प्रभावित बनाउने योजना अघि बढाएका छन् । ट्रम्पले पुनः बमबारी गर्ने वा यो द्वन्द्वबाट पूर्ण रूपमा पछि हट्ने विकल्प बढी जोखिमपूर्ण हुन सक्ने ठानेकाले नाकाबन्दीलाई नै प्रभावकारी रणनीति मानेको बताइएको छ । यस कदमको मुख्य उद्देश्य इरानको अर्थतन्त्र र तेल निर्यातलाई अझ कमजोर बनाउने रहेको जनाइएको छ। अमेरिकामा सन् १९७३ को ‘वार पावर्स रेजोल्युसन’ नामक कानुनअनुसार राष्ट्रपतिले संसदको स्वीकृतिबिना सेना प्रयोग गरे ६० दिनभित्र संसदबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अमेरिकाले इरानमाथि फेब्रुअरी २८ देखि आक्रमण गरेको थियो भने यसको जानकारी संसदमा मार्च २ मा मात्रै दिइएको थियो। यस हिसाबले ट्रम्पसँग मे १ भित्र संसदको स्वीकृति लिनुपर्ने समयसीमा रहेको छ । अनुमति प्राप्त गर्न प्रतिनिधि सभा र सिनेट दुवैबाट सामान्य बहुमत आवश्यक पर्छ। तर अहिलेसम्म यस्तो स्वीकृति प्राप्त भएको छैन, किनकि कम्तीमा १० जना रिपब्लिकन सांसद युद्धको विपक्षमा रहेका छन् । कानुनअनुसार संसदले स्वीकृति नदिए सैन्य कारबाही अन्त्य गर्नुपर्ने हुन्छ । तर विगतमा पनि धेरै अमेरिकी राष्ट्रपतिहरूले यो व्यवस्थालाई पूर्ण रूपमा पालना नगरेको उदाहरण रहेको छ। यसैबीच अमेरिका–इरान वार्तामा पनि विभिन्न विषयमा सहमति जुट्न सकेको छैन । अमेरिका इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने पक्षमा छ। तर इरानले अधिकतम पाँच वर्षसम्म मात्रै सीमित रोक स्वीकार गर्न सकिने बताएको छ । अमेरिकाले इरानसँग रहेको करिब ४०० किलो समृद्ध युरेनियम आफ्नो नियन्त्रणमा दिनुपर्ने माग गरेको छ। इरानले यो प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेको छ। इरानले आफ्ना बन्दरगाहमाथिको प्रतिबन्ध नहटेसम्म होर्मुज जलडमरूमध्यमा लगाइएको रोक कायम रहने बताएको छ। अमेरिका भने पूर्ण सम्झौता नभएसम्म प्रतिबन्ध नहट्ने अडानमा छ । इरानले करिब २० अर्ब डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्न र प्रतिबन्ध हटाउन माग गरेको छ । साथै अमेरिका र इजरायलका आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति स्वरूप करिब २७० अर्ब डलर दिनुपर्ने इरानको माग छ ।  अमेरिकाले भने इरानले हिजबुल्लाह र हमासजस्ता आफ्ना सहयोगी समूहलाई दिँदै आएको समर्थन घटाउन र आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नुपर्ने शर्त राखेको छ । इरान भने यसमा सहमत देखिएको छैन ।

१९- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पिएसजीले बायर्न म्युनिखलाई पराजित गर्दै अग्रता हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बायर्न म्युनिखलाई ५-४ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा उसमान डेम्बेलेले र ख्विचा क्वारत्स्खेलियाले २-२ गोल गरेका थिए भने जोआओ नेभेजले एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि ह्यारी केन, माइकल ओलीस, डायोट उपामेकानो र लुइस डियाजले एक एक गोल गरेका थिए । अब सेमिफाइनलको दोस्रो लिग बायर्नको घरेलु मैदानमा मे ७ मा हुने छ । च्याम्पियन्स लिगको सेमिफाइनलको अर्को खेल आज राति आर्सनल र एटलेटिको म्याड्रिडबीच हुने तालिका रहेको छ ।

२०- राजस्थान रोयल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको २२३ रनको लक्ष्य पछाएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा डोनोभान फेरेइराले ५२, यशस्वी जैसवालले ५१, वैभव सुर्यबंशीले ४३ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेंद्र चहलले ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले२० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६२ र प्रभसिमरन सिंहले ५९ रन बनाएका थिए । यो जितपछि राजस्थानको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यो यस सिजनमा पहिलो हार हो । पञ्जावको ८ खेलमा १३ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ । आइपिएलमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

  • Related Posts

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 14 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 19 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 21 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 18 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 20 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम