अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई

भेरीगङ्गा (सुर्खेत), ३ साउन: बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मनुभएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुनुहुन्छ । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुनुहुन्छ । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जानुहुन्थ्यो ।

सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गर्नुभएका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुप¥यो ।

घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्नुहुन्छ, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।” विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे । सानै कक्षादेखि राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जानुहुथ्यो । घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हँुदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउनुहुन्छ ।

“मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैँ प्रथम हुन्थे । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मेहेनत गर्थे, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो”, दुर्गा भन्नुहुन्छ ।

बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उहाँले अभावका बीचमा पनि धेरै सङ्घर्ष गर्दै आफ्नो मेहनतलाई निरन्तरता दिनुभयो । उहाँले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो ।

प्लस टू (१० जोड २) को पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन । “अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ”, दुर्गा भन्नुहुन्छ,” “मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाईलाई पनि निरन्तरता दिनु छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो ।”

उहाँको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग ग¥यो । अपाङ्गताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा जानुभयो । उहाँलाई काठमाडौँमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ”, दुर्गा भन्नुहुन्छ”, “मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति आभारी छु ।” पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उहाँलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो ।

सानैदेखि पढाइप्रति मेहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाउनुभयो । स्नातक तह पार गर्नुभएका उहाँले सँगसँगै लोकसेवा आयोगको तयारी गर्नुभयो । “गाउँमा दृष्टिसम्बन्धी अपाङ्गता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । रातदिन नभनेर आफ्नो पढाइमा मेहेनत गरेपछि सफल भइदो रहेछ”, उहाँ भन्नुहुन्छ ।

विसं २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौँथो तहमा परीक्षा दिनुभएका दुर्गाले पहिलो पटक नै नाम निकाल्न सफल हुनुभएको थियो । अब भने आफ्नो लक्ष्य पूरा भएको उहाँले अनुभूति गर्न थाल्नुभयो । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाल्नुभयो । उहाँको लक्ष्य र सफलताको यात्रा यतीमा रोकिएन ।

दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नायब सुब्बा) मा समेत नाम निकाल्न सफल हुनुभयो । चार वर्ष धादिङमा सेवा गर्नुभएका उहाँ सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहनुभएको छ । आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल हुनुभएको छ ।

दुर्गा भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ । अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउनुहुन्छ ।

–––

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल