बीरगंज, १३ फागुन । अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मधेसका पाँच र बागमतीको एक टिम सहभागी हुने जनाएको छ। क्लबका सचिव ऋतु शाक्यका अनुसार भारतका दुई टिम बिहारको छाप्रा र नरकटियागंज समेत को सहभागी हुनेछ ।

कोरोना संक्रमणका कारण लामो समय सम्म रोकिएको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको सचिव शाक्यले बताए । पुरुष मात्र नभई महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए।

बीरगंजको नारायणी रंगशाला चैत ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु ३० हजार, प्रमाण-पत्र र ट्रफी तथा उपविजेताले नगद रु १५ हजार, प्रमाण-पत्र र ट्रफी पाउने आयोजकले जनाएका छन्, भने खेल प्रेमीहरुको लागि रु. १ सय र रु. २ सयको प्रवेश शुल्क रहनेछ ।