काठमाडौँ । इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ । इरानको खातम अलअम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकी सेनाले इरानी तेल ट्यांकरलाई निशाना बनाएको बताएका छन् । उक्त ट्यांकर जास्क क्षेत्रबाट होर्मुज जलमार्गतर्फ गइरहेको थियो ।

इरानका अनुसार अमेरिकाले युएईको फुजैराह बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको छ । साथै केही क्षेत्रीय देशसँग मिलेर खमीर, सिरिक र केश्म द्वीपका आवासीय क्षेत्रमा हवाई हमला गरिएको इरानको दाबी छ ।
आक्रमणपछि इरानी सेनाले तत्काल प्रतिकार गरेको जनाएको छ । इरानले होर्मुज जलमार्गको पूर्वी भाग र चाबहार बन्दरगाहको दक्षिण क्षेत्रमा रहेका अमेरिकी सैन्य जहाजमाथि हमला गरेको दाबी गरेको हो । इरानले आफ्नो जवाफी कारबाहीबाट अमेरिकी जहाजमा ठूलो क्षति पुगेको पनि जनाएको छ । साथै अमेरिका र उसका सहयोगीलाई कडा चेतावनी दिँदै कुनै पनि आक्रमणको बिना हिचकिचाहट जवाफ दिने बताएको छ ।
यता अमेरिकी सेनाले भने होर्मुज जलमार्गमा आफ्ना तीन नौसैनिक जहाजमाथि भएको इरानी हमला विफल पारिएको जनाएको छ । रिपोर्टअनुसार अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार आफ्ना जहाज त्यहाँबाट गुज्रिरहेका बेला इरानले बिना कुनै उक्साहट आक्रमण गरेको दाबी गरेको हो । अमेरिकी सेनाले ती आक्रमणलाई रोक्दै आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको जनाएको छ । साथै अमेरिकी सेनामाथि आक्रमणका लागि जिम्मेवार इरानी सैन्य अड्डालाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तीन ठूला युद्धपोत सुरक्षित रूपमा होर्मुज जलडमरूमध्य पार गरेको बताएका छन् । उनका अनुसार जहाजमाथि हमला भए पनि कुनै क्षति नपुगेको र जवाफी कारबाहीमा इरानी आक्रमणकारी पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरेका छन् ।
ट्रम्पले इरानले प्रयोग गरिरहेका साना डुंगासमेत समुद्रमा डुबाइएको बताएका छन् । उनका अनुसार अमेरिकी युद्धपोततर्फ प्रहार गरिएका मिसाइल र ड्रोनलाई अमेरिकी सेनाले आकाशमै नष्ट गरेको थियो । उनले इरानलाई सामान्य देशजस्तो व्यवहार नगरेको आरोप लगाउँदै त्यहाँ कट्टरपन्थी समूहले सत्ता सञ्चालन गरिरहेको टिप्पणी गरेका छन् ।
ट्रम्पले इरानले चाँडै सम्झौता नगरे भविष्यमा अझ कडा सैन्य कारबाही गरिने चेतावनी दिएका छन् । साथै अमेरिकी युद्धपोत फेरि आफ्नो नौसैनिक नाकाबन्दी अभियानमा फर्किने र त्यसलाई उनले ‘फलामको पर्खाल’ को संज्ञा दिएका छन् ।







